Monday 28 November 2011

‘किसनजी’को मृत्युपछि भारतीय माओवादी


पर्शुराम काफ्ले
माओवादी अध्यक्ष प्रचण्डसहित मोहन बैद्य, सिपी गजुरेलहरुको प्रयासमा यसैबर्ष मार्चको आरम्भवमा नेपालको अज्ञात स्थानमा भएको दक्षिण एशियाली माओवादी पार्टीका प्रतिनिधिको जमघटले यो क्षेत्रलाई विश्वक्रान्तिको उदाउँदो केन्द्रका रुपमा विकसित गर्ने पुरानो मन्त्र दोहो¥यायो । नेपाली माओवादीद्वारा आयोजित दक्षिण एशियाली माओवादी पार्टी तथा संगठनहरुको संयोजन समिति (कम्पोसा) को पाचाँै सम्मेलनले ‘नयाँ जनवादी क्रान्ति’का लागि विश्वकै बस्तुगत अवस्था अनुकुल तर माओवादीहरुको शक्ति भने अपेक्षितरुपमा सन्तोषजनक नभएको ठहर ग¥यो ।
यही बर्ष २३ मार्चमा स्थायी समिति सदस्य दीलबहादुर उपनामका नेताद्धारा जारी विज्ञप्तिअनुसार कम्पोसाद्धारा पारित राजनीतिक प्रस्ताबमा उल्लेख गरियो, ‘जहाँ सम्भव छ सत्ता कब्जा गर्ने, जहाँ जनयुद्ध जारी छ त्यहाँ उन्नत स्तरमा विकास गर्ने, जहाँ पार्टीको अस्तित्व छैन, त्यहाँ जनयुद्धको तयारीका लागि पहलकदमी लिने तथा जहाँ पार्टी नै छैन, त्यहाँ पार्टी निर्माण गर्ने । अब माओवादी क्रान्तिकारीहरुको कार्यभार यही हुनुपर्दछ ।’ अरुण नामका शीर्ष नेताको मृत्युपछि बंगलादेश र गतिविधि शुरु भएलगत्तै पार्टी दुई चिरा भएको भुटानको माओवादी पार्टीले अस्तित्वमात्रै जोगाएको, अमेरिकी हस्तक्षेप बीच अफगानिस्तानमा माओवादीले जनयुद्ध थाल्न लागेको र तामिलहरुको राजनीति समाप्त भइसकेपछि श्रीलंकामा माओवादी पार्टी पुनःसंगठित हुँन लागेको विश्लेषणसहित कम्पोसाले नेपालमा नयाँ जनवादी क्रान्तिको पूर्णतामा पु¥याउने अवस्थामा माओवादी पार्टी पुगेको अनि भारतमा समेत माओवादीहरुका लागि अनुकुल परिवेश सिर्जना हुँदै गएको निस्कर्ष निकाल्यो । विशेष त, भारत सरकारद्धारा ‘आन्तरिक सुरक्षाको सबैभन्दा ठूलो चुनौति’का रुपमा हेरिएको भाकपा माओवादीप्रति कम्पोसाको निस्कर्ष थियो, ‘भारतमा राज्यसत्ताले राजनीक तथा फौजीरुपमा थोपरेको युद्धबाट क्रान्तिकारीका लागि अनुकुल परिस्थिति सिर्जना हुँदै गएको छ ।’ कम्पोसाले निकालेको निस्कर्षका आधारमा नेपालमा राज्यसत्ता कब्जा गर्ने एकीकृत माओवादीका केही नेताको आकांक्षा अझै जिवित भए पनि माओवादी बाटो त्यसभन्दा पृथक छ । तर, दक्षिण एशियामा माओवादी गतिविधिलाई शुक्ष्म रुपमा अध्ययन गर्नेहरुको ध्यान भनें बिगत केही बर्षदेखि भारतीय माओवादीतिर गएको छ । भारतीय केन्द्रिय गृह राज्यमन्त्री जितेन्द्र सिंहले अघिल्ले बुधवार राज्यसभामा दिएको जानकारी अनुसार हालसम्म माओवादीले यो बर्ष जम्मा एक हजार चारसय ६८ वटा साना ठूला आक्रमण गरेका छन् । माओवादीको बढ्दो प्रभाव पुष्टि हुन्छ ।
पछिल्ला दुई बर्षमा शान्ति वार्ताका लागि भइरहेका प्रयासबीच भारतीय माओवादीका दुई प्रभावशाली नेताहरु किसनजी र आजाद मारिएका छन् । दुई नेताको ‘मृत्यु’पछि भारतीय माओवादीको हैसियत र भविश्यमाथि अड्कलबाजीहरु हुन थालेका छन् । २२ जुन सन् २००९ मा सरकारद्धारा आतंककारी घोषित माओवादीसँग केन्द्रियस्तरमा शुरु भएको वार्ता तयारीबीच १ जुलाई २०१० मा पोलिटव्युरो सदस्य एवं प्रबक्ता आजाद मारिएका थिए भने त्यसको एक बर्षपछि पश्चिम बंगालमा जारी वार्ता प्रयासबीच माओवादीका पोलिटव्युरो सदस्य, पूर्वी कमाण्ड इन्चार्ज तथा माओवादीको सैन्य रणनीतिकार कोटेश्वर राव ‘किसनजी’ २४ नोभेम्बरमा मारिएका छन् । दुवैको मृत्युसँग सम्बन्धित पृष्ठभूमि फरक छ तर, किसनजीको पछिल्लो मृत्युपछि भारतमा वार्ताबाट द्धन्द्धको समाधान खोज्न राज्यस्तरमा भएको प्रयास बिफल मात्रै भएको छैन, किसनजी जस्ता शक्तिशाली नेताको पछिल्लो मृत्युले माओवादी आन्दोलनकै हैसियत र भविश्य प्रभावित हुने निश्चित छ ।
किसनजीबिनाको माओवादी
पचास बर्ष नाघेका तथा माओवादी पोलिटव्युरोका तीन प्रभावशाली नेता (पार्टी महासचिव गणपति, प्रशान्त बोस ‘किसन दा’ र स्वयम किसनजी) मध्ये तेस्रो हैसियतका थिए मलोजुला कोटेश्वर राव अर्थात् किसनजी । पश्चिम मिडनापुर जिल्लाको जंगलमा सरकारद्धारा परिचालित केन्द्रिय रिजर्भ पुलिस फोर्स (सीआरपीएफ) अन्तर्गतको कोब्रा कमाण्डो, काउन्टर इन्सर्जेन्सी फोर्ससहित करिब एक हजार संयुक्त सुरक्षा फौजको तीनदिने अपरेसनका क्रममा आन्ध्रप्रदेश स्थायी निबासी किसनजी २४ नोभेम्बर अपरान्ह मारिएको पुष्टि भयो ।
माओवादी र सरकार दुबैले मृत्युको पुष्टि गरिसकेका छन् । पश्चिम बंगाल राज्य समितिका सदस्य तथा माओवादीका राज्यस्तरीय प्रबक्ताले गिरफ्तारपछि प्रहरीले किसनजीको हत्या गरेको दाबी गर्दै त्यस विरुद्ध शनीवार र आइतबार पश्चिम बंगाल बन्द आयोजना गरेको जनाएका छन् भने ‘हत्या’ बिरुद्ध एक साता लामो संघर्षको कार्यक्रम समेत माओवादीले सार्वजनिक गरेको छ । विगतमा किसनजीका राजनीतिक सहपाठी रहेका तेलेगु कवि बरबर रावले २५ नोभेम्बरमा विज्ञप्ति प्रकाशित गरी माओवादी दाबीलाई मद्दत पुग्ने गरी भनेका छन्, ‘यो मुठभेडको बनावटी कथा मात्रै हो । संयुक्त अपरेसन सञ्चालन गरिरहेका बेला शान्तिको कुरा गर्ने ममता बनर्जीले यो घटनाबाट आफ्नो गैरजिम्मेबार कार्यको पुष्टि गरेकी छिन् ।’
तीन दशकभन्दा लामो भूमिगत जीवन व्यतित गरेका किसनजीको राजनीतिक यात्रा आन्ध्रप्रदेशको तेलंगना, विहार हुँदै पश्चिमबंगालसम्म आइपुगेर अस्ताएको छ । भारतीय अखबार इन्डियन एक्सप्रेसका अनुसार किसनजीको मृत्युपछि आन्ध्रप्रदेशमा स्थानीय बासिन्दाले उनको सम्मानमा शोक गीत बजाएका छन् । सन् २००४ मा भाकपा माओवादी गठन भएयता पश्चिम बंगाललाई कार्यक्षेत्र बनाएका किसनजी मिडियामैत्री स्वभावका थिए । एके ४७ राईफल भिरेर हिँड्ने किसनजीको टाउकोमा हमेशा गम्छा टुट्दैनथ्यो, गम्छा उनको ब्राण्डकै रुपमा स्थापित थियो । यद्यपि, सम्भावित असुरक्षाका कारण पत्रकारहरुसँग निरन्तर सम्पर्कमा रहने किसनजीले सञ्चारमाध्यममा आफ्नो अनुहार कहिल्यै देखाएनन् । किसनजीले पिपुल्स वार ग्रुप र माओवादी कम्युनिष्ट केन्द्र बीच एकीकरण गरेर भाकपा माओवादी गठन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए, भारतलाई नै केन्द्र बनाएर बसेका नेपाली माओवादीका शीर्ष नेताहरुले समेत मध्यस्थता गरेको प्रसंग पुरानो भइसकेको छ । भारतका अर्धसैनिक सुरक्षा निकायमाथि ठूल्ठूला हमलाका रणनीतिकार मानिने किसनजी आफूलाई ‘कोमल हृदय भएको क्षमाशील व्यक्ति’का रुपमा पत्रकारसामू प्रस्तुत गर्थे । छत्तिसगढ, आन्ध्रप्रदेश, उडिसा, पश्चिम बंगालमा राम्रो पहुँच र प्रभाव रहेका किसनजीले भारतको दोस्रो नक्सलबारीका रुपमा पश्चिम बंगालको लालगढ क्षेत्रलाई माओवादी किल्ला बनाएका थिए । लालगढ त्यही स्थान हो जहाँ केन्द्रिय रेलमन्त्रीको हैसियतमा रहेका बेला हालकी मुख्य मन्त्री ममता बनर्जीले माओवादीको खुल्ला मोर्चाले आयोजना गरेको ¥यालीमा सहभागी भएर माओवादीको सहानुनूति बटुलेकी थिइन् । माओवादी द्धन्द्धको समाधान वार्ताबाट समाधान गर्नुपर्ने, नेता आजादको मृत्युको न्यायीक जाँचपड्ताल गरिनुपर्ने भाषण दिएर बनर्जीले पश्चिम बंगालमा माक्र्सबादी कम्युनिष्ट पार्टी विरुद्ध मोर्चाबन्दीका लागि मैदान तयार गरेकी थिइन् । बंगालको सत्तारुढ माक्र्सबादी कम्युनिष्ट पार्टीसितको प्रतिशोध लिन माओवादीहरुले समेत त्रिणमुल कांग्रेसलाई चुनावमा हरतरहको साथ दिएका थिए जसकै कारण बनर्जीले मुख्यमन्त्रीको ताज पहिरिएपछि बंगालबाट कम्युनिष्ट धपाइएका थिए । तर, राज्यको आधिकारिकतासँग सम्झौता नगरी बनर्जीले माओवादीविरुद्ध अपरेसनसमेत जारी राख्दै वार्ताका लागि प्रयास थालिन् । तर, त्रिणमूल कांग्रेसका कार्यकर्तामाथि माओवादीबाट भइरहेका आक्रमणबाट क्षुब्ध बनेकी बनर्जीले २१ नोभेम्बरमा सुरक्षा प्रमुखहरुलाई भनिन्, ‘माओवादीहरुलाई पश्चिम बंगालको सिमाना कटाइदिनुस् ।’ त्यसको तीनदिनपछि माओवादी नेता किसनजी मारिएका छन् ।
हुन त, किसनजीको मिडियामैत्री चरित्र, त्रिणमूल कंग्रेसका नेतासँगको सम्पर्कमाथि माओवादी केन्द्रिय समितिमै प्रश्न उठेको सूचनासमेत यसबीचमा सार्वजनिक भएका थिए । त्रिणमूल कंग्रेसका नेतासँग किसनजीको सम्पर्क सेतू गुप्तचरहरुले उहिल्यै पत्ता लगाइसकेको र हाल त्यसले समेत किसनजीको मृत्यका लागि बल पुगेको आंकलन भइरहेको छ । पार्टीसँग केही अन्तरबिरोध बढेको र त्यसकै कारण उनी आफ्नो सुरक्षा दस्ता बेगर कतिपय क्षेत्रमा निस्फिक्री हिड्ने गरेको सञ्चारमाध्यमहरुले जनाएका छन् । ‘किसनजीको सुरक्षाका लागि दुई दर्जन भन्दा बढी व्यक्ति रहेको प्लाटुन खटिएकोमा पछिल्लोपटक सुरक्षा दस्ता उनीसँग थिएनन् भन्ने विश्वसनीय सूचना आएको छ ’गुप्तचरहरुको हवाला दिँदै भारतीय पत्रपत्रिकाहरुले लेखेका छन् । यसलाई आधार मान्ने हो भने उनको मृत्युको कारण घुमाउरोरुपमा पार्टीकै असन्तुष्ट पक्षसमेत हुनसक्छ । गत २६ अगस्तमा त्रिणमुल कंग्रेसका नेता रविन्द्रनाथ मिश्रको हत्यापछि सुरक्षा अधिकारीहरुले किसनजीलाई मार्क गरेका थिए । भारतीय समाचार माध्यमहरुका अनुसार ममता बनर्जी नेतृत्वको सरकारले माओवादीसँग वार्ता थालेका बेला उनकै नेता मारेर बार्ताका लागि दह्रो प्रेसर दिन खोजेका थिए, तर त्यो उनीहरुकै लागि प्रत्युत्पादक भयो । तर, भारतीय सुरक्षा अधिकारीहरुकै फरक अनुमान यो पनि छ कि वार्ता नचाहेका माओवादीको एउटा पक्षले त्रिणमूल नेता कार्यकर्तामाथि आक्रमण गरेका हुनसक्छन् । किनभने वार्ताका एउटा पक्ष किसनजी थिए, उनको चर्को आलोचना गर्ने एउटा पक्षले नै वार्ताको वातावरण विथोल्न त्यस्तो हरकत गरेको हुनसक्छ । यसले पनि किसनजी पार्टीभित्र कमजोर हुँदै गएको विश्लेषण गर्नेहरुलाई मद्दत पु¥याएको छ । जसरी गत बर्ष स्वामी अग्निवेशले थालेको वार्ता प्रयास माओवादी नेता आजादको हत्यासँगै अनिश्चित भएको थियो, यसबर्ष पनि पश्चिम बंगाल सरकारद्धारा माओवादीसँग वार्ताका लागि तोकिएका नागरिक समाजका अगुवा सुजातो भदको प्रयास किसनजीको मृत्युसँगै बिफल भएको छ ।
गुप्तचर अधिकारीलाई उद्धृत गर्दै २५ नोभेम्बरमा प्रकाशित इन्डियन एक्सप्रेस दैनिकले लेखेको छ्, ‘किसनजी माओवादीका असाधारण गुरिल्ला रणनीतिकार थिए । हामीसँग भएको सूचना अनुसार राजनीतिक दर्शन र सैन्य रणनीतिमा पोख्त उनी माओवादीकै दुर्लभ नेता थिए ।’ १९८०को दशकमा हालका पार्टी महासचिव गणपति भन्दा बरिष्ठ हैसियतमा रहेका किसनजीका भाइ वेणुगोपाल राव ‘अभय’ समेत माओवादीको माथिल्लो स्तरमा छन् । तर, किसनजीलाई बुझेका बुद्धिजीविहरुका अनुसार गत बर्ष आजादको मृत्युपछि माओवादीको केन्द्रिय प्रबक्ता र केन्द्रिय सदस्य रहेका अभयले दाजुको स्थान पूर्ति गर्न असम्भव छ ।
माओवादीको शक्तिलाई केही फरक नपर्ने प्रतिक्रिया माक्र्सबादी कम्युनिष्ट पार्टीको छ भने बीजेपीका वंगाल अध्यक्ष राहुल सिन्हाले भनेका छन्, ‘यो ठूलो सफलता हो, यसलाई थप सशक्त बनाउनुपर्छ । हतियार उठाउनेहरुलाई राज्यले हतियारबाटै जबाफ दिनुपर्छ ।’ तर, प्रतिकुल परिस्थितिबीच भारतको चालिस प्रतिशत भूभागमा माओवादीले प्रभाव विस्तार गरिसकेको छ । सरकारले दुई बर्ष यता माओवादीहरुको प्रभाव २२३ जिल्लाबाट १८२ जिल्लामा झरेको दाबी गरेपनि सुरक्षा विज्ञहरुले विद्यमान नागरिक प्रशासनको बुताबाट माओवादीबिरुद्धको अपरेसन असफल भएको विश्लेषण गर्न थालिसकेका छन् । हुन त भारतको माओवादी आन्दोलन चीन र पाकिस्तानको भारत घेर्ने रणनीतिअनुसार शुरु भएको भन्नेहरु पनि भारतमा प्रशस्तै छन् ।
यद्यपि, बरिष्ठ नेताहरुको मृत्युले भारतमा धिमा गतिमा जारी माओवादी आन्दोलनको आगामी यात्रालाई गम्भीर क्षति पु¥याएको छ । बुझिए अनुसार किसनजीको मृत्युसँगै माओवादीको कुल ३८ सदस्यीय पोलिटव्युरोको संख्या २२ सदस्यीय बन्न पुगेको छ । प्रभावशाली नेताहरु कोबाध गान्धी, प्रमोद मिश्र, अशुतोष टुडु, अमिताभ बाम्ची, नारायण सन्याल, सुशील रोय तथा केन्द्रिय र राज्यस्तरका कैयौँ नेता जेल जीवन व्यतित गरिरहेका छन् । किसनजीको मृत्युले भारतमा माओवादी आन्दोलनको राजनीतिक र फौजी पाटोलाई समेत गम्भीर क्षति पु¥याएको छ । वार्ताबाट द्धन्द्धको समाधान नचाहने सरकार र माओवादीभित्रको अर्को पक्षका लागि किसनजीको मृत्यु स्वभाविक हुनेछ । हुन त, भारतको बलियो केन्द्र सरकारका कारण गुरिल्ला युद्धबाट माओवादीले सम्पूर्ण राज्यसत्ता कब्जा गर्न असम्भवप्रायः छ । यद्यपि, चालिस प्रतिशत भुभाग कब्जा गरेका माओवादीको सैन्य वा राजनीतिक क्षमतामा तत्काल केही ह्रास आउने बित्तिकै सैन्यबलबाट माओवादीको निर्मूलीकरण त्यत्तिकै असम्भव छ ।
नेपाली माअ‍ोवादी नेताहरुसँग राम्रो सम्बन्ध र सम्पर्क रहेका किसनजीको मृत्युप्रति कम्पोसाको सदस्य पार्टीका रुपमा एकीकृत माओवादीले मुख खोलिसकेको छैन । हुन त गत बर्ष आजादको हत्याका बिषयमा पनि माओवादीले निकै ढिलो प्रतिक्रिया जनाएको थियो । त्यहाँको संस्थापन पक्षसँग सम्बन्ध सुमधुर बनाइरहेको र सत्तारुढ भएको अवस्थामा माओवादीको प्रतिक्रिया आएमा त्यो भारत सरकारका लागि भने निकै पेचिलो हुनेछ ।
pkaphle@gmail.com
(नयाँ पत्रिका दैनिक, ११ मंशीर २०६८)