Monday 19 March 2012

वैद्य पक्षविरुद्ध संस्थापनको रणनीति, वार्ता र प्रतिरोध एकैसाथ

पर्शुराम काफ्ले काठमाडौं, चैत ५ । एकीकृत नेकपा माओवादीको वैद्य पक्षले आफ्नो विचार सम्ूहको छुट्टै केन्द्रीय समिति बैठक बोलाएर सरकारविरुद्ध संघर्ष आहृवान गरेपछि संस्थापन पक्षले पनि केन्द्रीय समितिबाटै त्यसको प्रतिरोध गर्ने भएको छ । उपाध्यक्ष मोहन वैद्य पक्षले सरकारविरुद्ध आन्दोलन घोषणा गरेको भोलिपल्ट आइतबार बसेको संस्थापन पक्षसम्बद्ध पदाधिकारी बैठकले सोमबार आफूपक्षधर केन्द्रीय समितिको बैठक बोलाएको छ । सोही बैठकबाट वैद्य पक्षको शक्ति मूल्यांकन गरी देशव्यापी जनपरिचालनका कार्यक्रम तय गर्ने संस्थापन पक्षले जनाएको छ । वैद्य पक्ष संस्थागतरूपमा विरोधमा उत्रिएपछि भावी रणनीति तय गर्न आइतबार माओवादी अध्यक्ष पुष्पकमल दाहालले उपाध्यक्ष एवं प्रधानमन्त्री डा. बाबुराम भट्टराई, अर्का उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र सचिव पोष्टबहादुर बोगटीसँग छलफल गरेका थिए । उपाध्यक्ष श्रेष्ठको निवासमा भएको छलफलमा संस्थापन पक्षले वैद्य समूहसँग वार्ता र प्रतिवाद एकैसाथ गर्ने निष्कर्ष निकालेको छ । अध्यक्ष दाहाल निकटका पोलिटब्युरो सदस्य हरिबोल गजुरेलका अनुसार संस्थापन पक्षले सोमबार बिहान ११ बजे आफ्नो पक्षको केन्द्रीय समिति बैठक बोलाएको छ । बैठकमा वैद्य पक्षलाई बोलाइएको छैन । ‘उहाँ (वैद्य) हरूले पनि आफ्नो बेग्लै केन्द्रीय समिति बनाएर आउनुभयो, हामी पनि आफ्नो केन्द्रीय समितिमा बृहतरुपमा छलफल गरेर निष्कर्ष निकाल्छौँ,’ गजुरेलले आइतबार साँझ हिमालय टाइम्ससँग भने । संस्थापन पक्षले वैद्य पक्षको आन्दोलनलाई ‘निम्न पूँजीवादी अधैर्य र बामपन्थी बिसर्जनवादको परिणाम’ भनेको छ । ‘यदि उहाँहरू इमानदार नै हुनुहुन्थ्यो भने पार्टीको केन्द्रीय समिति बैठक राख्न माग गर्नुहुन्थ्यो र त्यहीँबाट छलफल गर्न सकिने आधार थियो,’ गजुरेलले भने, ‘त्यसकारण उहाँहरू बिसर्जनवादतिर जानुभएको छ । ’ प्रधानमन्त्री भट्टराई पक्षका एक नेताले संस्थापन पक्षको केन्द्रीय समिति बैठकले पार्टी एकताका पक्षमा देशव्यापी कार्यक्रम ल्याउने बताएका छन् । ‘हामी तत्काल वैद्यजीहरूसँग वार्ता पनि गर्छौं र उहाँहरूले लगाएको आरोपको वैचारिक प्रतिरोध पनि गर्छौं,’ नेता गजुरेलको भनाइ छ । उपाध्यक्ष भट्टराई पक्षले वैद्य पक्षको प्रतिरोध गर्दै पार्टी एकताका पक्षमा देशव्यापी अभियान सञ्चालन गर्न दिएको सल्लाहमा दाहाल सहमत भएका छन् । ‘वैद्यजीहरूले हामीलाई राष्ट्रघातीको आरोप सार्वजनिक रूपमा लगाएपछि हामी पनि सार्वजनिक रूपमा नै त्यसको प्रतिरोध गर्छौं, त्यसकै लागि कार्यक्रम बन्दैछ,’ भट्टराई निकटका एक नेताले भने, ‘र, वैद्यजीहरूले बेग्लै बैठक गरेर पार्टी फुटाउन खोज्नुभएको छ, त्यसविरुद्ध पनि हामी पार्टी एकताको सन्देश दिने गरी कार्यक्रम ल्याउँछौँ ।’ केन्द्रिय समितिको बैठकअघि अध्यक्ष दाहाल र प्रधानमन्त्री भट्टराईले आफ्नो पक्षधर नेतासँग आइतबार बेग्लाबेग्लै छलफल गरेका छन् । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले सोमबार हुने बैठक र संयुक्त छलफलबाट आगामी कार्यक्रम तय हुने हिमालय टाइम्सलाई बताए । अध्यक्ष दाहालले आइतबार आफ्ना पक्षधर पदाधिकारी तथा निकटस्थ केही नेतासँग बेग्लाबेग्लै छलफल गरे पनि वैद्य पक्षसँग भने सम्पर्क गरेनन् । माओवादी पदाधिकारीहरूमध्ये उपाध्यक्ष वैद्यसँग महासचिव रामबहादुर थापा बादल र सचिव सिपी गजुरेल छन् भने अध्यक्ष दाहालको पक्षमा उपाध्यक्षद्वय भट्टराई र श्रेष्ठ तथा सचिव बोगटी छन् । पार्टीभित्र उपाध्यक्ष भट्टराई र श्रेष्ठको बेग्लाबेग्लै समूह भए पनि उनीहरू वैद्यविरुद्धको मोर्चाबन्दीमा अध्यक्ष दाहालसँग कार्यगत एकता गरेको जनाएका छन् । वैद्य पक्षले राजधानीमा गत २८ र २९ फागुनमा आफ्नो पक्षका केन्द्रीय समितिको बैठक राखेर संस्थापन पक्षविरुद्ध बेग्लै मोर्चाबन्दीको रणनीति बनाएको थियो । ‘हामीले आफ्नो केन्द्रीय समितिको बैठकमार्फत नै पार्टीभित्र र बाहिर संघर्षको घोषणा गरेका हौँ“,’ वैद्य पक्षका एक पोलिटब्युरो सदस्यले आइतबार हिमालय टाइम्ससँग भने, ‘त्यहीअनुसार देशव्यापीरूपमा भण्डाफोर अभियान चलाउन आफ्नो पक्षको सबै निकायमा सर्कुलर गरिसकेका छौँ ।’ ती नेताका अनुसार अध्यक्ष पुष्पकमल दाहाललाई मौखिक जानकारी दिएर वैद्य पक्षले आफ्नो पक्षको केन्द्रीय समिति बैठक बोलाएको थियो । आन्दोलन घोषणा गरेपछि संस्थापन पक्षसँग आफ्नो छलफल नभएको वैद्यपक्षले जनाएको छ । ‘हामीले आफ्ना कुरा भनिसक्यौँ, उहाँ (संस्थापन)हरूले केही भन्न सक्नुभएको छैन,’ वैद्य निकट केन्द्रीय सदस्य महेश्वर दाहालले हिमालय टाइम्ससँग भने, ‘हामीसँग छलफल गर्न अध्यक्ष प्रचण्डलाई सहज छैन । उहाँ आफ्नो गुटभित्र पनि अल्पमतमा हुनुहुन्छ, अहिले उपगुटहरूको बैठक बोलाइरहनुभएको छ । ’ पार्टी अध्यक्षले सत्ता, सुविधा र पदको प्रयोग गरेर वैद्यविरुद्ध प्रतिरोध गर्न खोजेको वैद्य पक्षको आरोप छ । ‘उहाँले जेसुकै प्रयोग गरे पनि प्रचण्ड अत्यन्तै कमजोर अवस्थामा हुनुभएकोले केही लाग्नेवाला छैन’ दाहालको आरोप छ । साना बामपन्थी समूहसँग मिलेर सरकारविरुद्ध सडक संघर्ष गर्ने तथा कांग्रेस र एमालेसँग मिलेर सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने विषयमा छलफल भइरहेको वैद्य पक्षले जनाएको छ । हिमालय टाइम्स, चैत ७