Friday 11 January 2013

राष्ट्रनिर्माताको सम्मान र सम्झनामा..

पर्शुराम काफ्ले


नेपाल एकीकरण आम नेपालीहरुका लागि गर्वको बिषय हो र एकीकरणका अभियन्ता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह हाम्रा विभूति हुन्, महानायक हुन् । नेपाल एकीकरण अभियानमा उनीसँगै बहादुर शाह, कालु पाण्डे, भक्ति थापा, अमरसिंह थापा, बलभद्र कुँबर, बंशिराज पाण्डे, बंशु गुरुङसहित हजारौं वीर वीरंगानाको अथक योगदान नेपाली जातिले कदापि भुल्न सक्दैन । मुलुकको एकीकरणकर्ता÷निर्माता पृथ्वीनारायण शाहको अमूल्य योगदान कुनै बहसको बिषय हुन सक्दैन र हुनु नहुने पनि हो । तर, दोस्रो जनआन्दोलनको ज्वारभाटाले जब उनको उत्तराधिकारी शाहबंसीय राजसंस्थाको अन्त्य ग¥यो (यद्यपि, यसको बैधानिकताको प्रश्न जीवितै छ) र त्यसपछि उनका योगदानलाई बङ्ग्याएर इतिहासको गलत व्याख्या गर्ने कामको आरम्भ भयो ।
विशेष गरि एकीकृत माओवादीले सुनियोजितरुपमा पृथ्वीनारायण शाहको योगदानको विरुद्ध  जातीवादी जनमत तयार गरी उनलाई खलपात्रका रुपमा चित्रित गर्न थालेपछि साम्प्रदायिक शोच बोकेका तथाकथित अग्रगमनकारी भनिनेहरुले उनलाई विस्तारवादी, साम्राज्यवादी र इतिहासको खलपात्रका रुपमा आरोपित र अपमानित गर्न थाले । दोस्रो जनआन्दोलनका समयमा काठमाडौंमा रहेका उरण्ठ्यौला माओवादी कार्यकर्ताले उनको शालिक तोडफोड गरेर नेपाली इतिहासलाई कुल्चिने दुस्प्रयास गरे । आज पृथ्वीनारायण शाहको २९० औं जन्मजयन्तिका दिन मुलुकले उनलाई औपचारिकरुपमा सम्झिने आँट गर्न सकेको छैन क्रमशः नेपाली जातिको गौरवशाली इतिहास र राष्ट्रनिर्मातामाथि हिलो छ्याप्ने प्रयास स्वयम राज्यबाट हुन थालेको छ ।
तत्कालीन घलेलु र बाह्य परिवेश एवं हाम्रो भविश्यको गहिरो चिन्तनसहित युवा राजाले थालेको एकीकरण अभियानमा जनजाति, दलित सबैले साथ दिएका हुन् । आज नेपाल एकीकरणको विरोध गर्ने जनजाति समूहहरुले मुलुक निर्माणको आफ्नै गौरवशाली इतिहासमाथि हमला गरिरहेका छन् । उनले प्रतिपादन गरेको विदेश नीति, सैन्य रणनीति र सुशासनसम्बन्धि उनका महानवाणि आजपनि मुलुकका लागि उत्तिकै सान्दर्भिक छन् । मुलुकको छिमेक सम्बन्ध, प्रशासन, प्रजातन्त्र र अखण्डताका लागि उनका दिव्योपदेश अहिले पनि हाम्रा लागि मार्गनिर्देशक छन् । यो यथार्थलाई अहिले शासनमा पुग्नेहरुले चटक्कै भुलेका छन् ।

नेपाल एकीकरण यता मुलुक राणा शासन, प्रजातन्त्र, पञ्चायती शासन, बहुदलीय प्रजातान्त्रिक शासन हुँदै अहिले गणतन्त्रमा आइपुगेको छ । एकीकरणले पूर्णता पाएका बेला मुलुकको आकार अहिले हामीसँग छैन, तर हामीसँग रहेको मुलुकको अखण्डता कहिल्यै पनि कसैको औपनिवेश बन्न नसक्नुमा यदि हामी गर्व गर्छौँ भने पृथ्वीनारायण शाहलाई यसको जस स्वभाविकरुपमा दिनुपर्छ । उनको दूरदर्शीतापूर्ण कदमले सिन्धुलीगढी आइपुगेको कप्तान किनलोकको अंग्रेजी फौजलाई परास्त गरी गोर्खाली फौजले मुलुक जोगाएको कुरा बिर्सने हो भने इतिहासप्रति यो भन्दा बढी अपमान केही हुनेछैन । यतिबेला पृथ्वीनारायणलाई अतिक्रमणकारी भन्नेहरुसँग उत्तर छैन कि यदि कान्तिपुरका तत्कालीन राजा जयप्रकाश मल्लले बोलाएको ब्रिटिश फौज सिन्धुलीगढीबाट हार खाएर नफर्किको भए र काठमाडौंमा बुट बजार्न पाएको भए यो मुलुकको अस्तित्व के हुन्थ्यो ? अनि अहिले कुन भूगोलमा टेकेर अहिले उनीहरुले राजनीति गर्थे ? उनी र उनका उत्तराधिकारीहरुको नेतृत्वमा त्यो बेला भएका आन्तरिक र बाह्य लडाईँको जगमा निर्माण भएको मुलुकप्रति हामी यदि गर्व गर्छौँ भने पृथ्वीनारायण हामी  सबैका सम्मानका प्रतिक किन नहुने ?

कतिपयले नेपालको एकीकरणको आलोचना गरिरहँदा आफू टेकेको भूगोल बिर्सिरहेका छन् । मानौं, पृथ्वीनारायण शाहले थालेको अभियान अत्याचारको प्रतिक थियो भने त्यसको विरोध गर्नेहरुले मुलुकको पुरानो भूगोलको किन कुरा उठाउँदैनन् ? यदि एकीकरण चाहिँ गलत अनि त्यही भूगोलको अस्तित्व चाहिँ सही ? कसरी सम्भव हुन्छ ?

दोस्रो जनआन्दोलनपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारले पुस २७ गते राज्यले मान्दै आएको राष्ट्रिय एकता दिवस एवं पृथ्वी जयन्तिको कार्यक्रम खारेज गरेर मुलुकको इतिहासमाथि कुठाराघात ग¥यो । मरेर गए पनि कोइरालाले नेपाली इतिहासमाथि गरेको यो हदको अन्यायको कालो दाग कहिल्यै पनि मेटिने छैन । त्यसयता एमाओवादीको सिको गर्दै कयौँ जातीय, मधेशी राजनीतिक समूहले पृथ्वीनारायण शाहको निर्लज्ज विरोध गर्दै आएका छन् र मुलुकको इतिहासमाथि राजनीति गरिरहेका छन् । यसलाई उनीहरुको गम्भीर अपराध मानिनुपर्छ । त्यसयताका सरकारहरुले पृथ्वीनारायणसँग जोडिएका मुलुकका विभिन्न स्थान र संस्थाहरुको नाम मेट्न थालेका छन्, यो भन्दा इतिहासप्रति कठोर अन्याय र अपमान केही हुनेछैन ।
पृथ्वीनारायणको २९० औं जन्मजयन्तिका दिन सबै नेपालीले उनलाई सम्झिनुपर्छ । इतिहासको सम्मान भएन भने वर्तमानको पनि भविश्यमा सम्मान हुनेछैन । यदि मुलुक निर्माणका बेला भएका अत्याचारका कथा पढाइने हो भने उनैले निर्माण गरेको मुलुकको व्यवस्था परिवर्तनका नाममा भएका आन्दोलन पनि गम्भीर अपराधमा परिणत हुनजान्छ । यदि पृथ्वीनारायणलाई अत्याचारी शासकका रुपमा व्याख्या गर्ने हो भने हालसम्म सशस्त्र आन्दोलनको पृष्ठभूमिबाट आएका सबै दल अपराधिमा परिणत हुनेछन् । त्यही व्याख्यालाई मान्ने हो भने एकीकृत माओवादी, कांग्रेस, एमाले परिवर्तनको सशक्त राजनीतिक शक्ति हैन, अपराधिहरुको झुण्डका रुपमा स्थापित किन नहुने ? त्यसकारण, व्यवस्था परिवर्तन भन्दा मुलुक निर्माण हजारौँ गुणा पुन्य हो । यो यथार्थलाई आत्मसात गर्दै पृथ्वीनारायण शाहलाई उच्च सम्मान गरौं । उनीप्रतिको सम्मानले नै हामीलाई नेपाली हुनुमा गर्व भइरहनेछ । राष्ट्रनिर्माताप्रति भावपूर्ण श्रद्धान्जली ।
काठमाडौं, २०६९ पुस २७ , पृथ्वीजयन्ति