Monday 2 July 2012

चिनियाँ टोली उच्चस्तरीय भेटमा, संघीयता र लम्बिँदो संक्रमणकालप्रति चासो


पर्शुराम काफ्ले
काठमाडौं, असार १६ । नेपाल भ्रमणमा रहेको उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डलले शान्ति, संविधान र स्थायित्वमा आँच नआउने गरी विवादित मुद्दाहरूमा राजनीतिक सहमति खोज्न प्रमुख दलका शीर्ष नेतालाई सुझाब दिएको छ । एकीकृत माओवादी, कांग्रेस, एमाले र नेकपा–माओवादीका शीर्ष नेतासँगको भेटमा प्रतिनिधिमण्डलले  संविधानसभा विघटनपछि लम्बिँदो संक्रमणकालमा चिनियाँ सुरक्षा चासो थपिएको बताएको छ । 
शुक्रबार काठमाडौं ओर्लेको भोलिपल्ट चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपमन्त्री आई पिङ नेतृत्वको टोलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यसहितका नेतासँग भेट गरेको हो । चिनियाँ नेताले संविधानसभा विघटन हुनुको कारण तथा अब राजनीतिक दलहरूबीच सहमति हुने राजनीतिक आधारबारे सूक्ष्म रूपमा चासो राखेका थिए । पिङ नेतृत्वको टोलीले पछिल्लोपटक भएको माओवादीको फुट तथा सम्भावित संघीय ढाँचाको आधारबारे दलहरूसँग जिज्ञासासमेत राखेको थियो ।
लाजिम्पाटस्थित निवासमा पुगेर चिनियाँ नेता पिङले एकीकृत माओवादी अध्यक्ष दाहाललाई ‘संविधानसभा विघटन हुनुका कारणहरू’ सोधेका थिए । ‘नेता पिङको जिज्ञासामा अध्यक्ष प्रचण्ड (दाहाल)ले राज्य पुनर्संरचनाको विषयमा दलहरूका बीचमा सहमति हुन नसक्दा संविधानसभा विघटन भएको बताउनुभएको थियो,’ दाहालको निजी वेबसाइटमा उल्लेख गरिएको छ । दाहालले सबै दलहरूबीच सहमतिका लागि आफूले पहल गरिरहेको समेत जानकारी दिएका थिए ।
उपमन्त्री पिङले राजनीतिक संकट तत्काल समाधानको पहल गर्न दाहाललाई आग्रह गरेको माओवादीका अन्तर्राष्ट्रिय विभाग प्रमुख कृष्णबहादुर महराले भेटपछि पत्रकारहरूलाई जानकारी दिए । स्रोतका अनुसार पिङले माओवादीद्वारा प्रस्तावित संघीयताको मोडलप्रति चासो राख्दै जातीय संघीयताप्रति असन्तुष्टि व्यक्त गरेका थिए । दाहालले नेपालमा जुनसुकै प्रकारको संघीय ढाँचामा सहमति भए पनि एक चीन नीतिप्रतिको नीति यथावत् रहने र चिनियाँ सुरक्षा चासो सम्बोधन हुने आश्वासन दिएको दाहालनिकट स्रोतले जनाएको छ । दाहालले केही समय मुलुकमा राजनीतिक संकट उत्पन्न भए पनि सहमतिका आधारमा हल गरिनेसमेत जवाफ दिएका थिए ।
करिब एक घन्टाको छलफलमा नेता पिङले राजनीतिक स्थिरतासहित नेपाल आर्थिक समृद्धिको दिशामा गएको आफूहरूले हेर्न चाहेको र त्यसका लागि सक्दो सहयोग गर्न चीन तयार रहेको पनि जानकारी दिएका थिए । दाहालसँगको भेटमा माओवादी नेताहरू महरा र लीलामणि पोखरेल तथा नेपालका लागि चिनियाँ राजदूत याङ होउलान पनि सहभागी थिए ।
महाराजगन्जस्थित निवास पुगेर सभापति कोइरालासँग चिनियाँ नेताले नेपालको लम्बिँदो संक्रमणकाल तथा संघीयताका विषयमा जिज्ञासा राख्दै चिनियाँ सुरक्षा चासो प्रस्तुत गरेका थिए । कोइरालाले राजनीतिक गतिरोध अन्त्यका लागि आफ्नो पार्टीले अत्यन्त जिम्मेवार ढंगले अग्रसरता लिइरहेको जवाफ दिएका थिए ।
माओवादी नेतृत्वको सरकारले ‘एकलौटी रूपमा संसद् भंग गरी निर्वाचनको घोषणा गराउँदा’ आफूहरू आश्चर्यचकित भए पनि उत्पन्न जटिल परिस्थितिलाई अनुकूल बनाउन प्रयास थालिएको कोइरालाको जवाफ थियो । 
पिङले नेपालमा शान्ति स्थायित्व र विकास चीनले चाहेको जानकारी दिँदै सबै दलहरूको सहमतिमा राजनीतिक निकास खोज्नुपर्ने सुझाब कोइरालालाई दिएका थिए । नेपालका दलहरू राष्ट्रिय सहमति निर्माण गर्न सफल हुनेसमेत पिङले विश्वास  लिएका छन् । 
पिङ नेतृत्वको टोली र एमाले शीर्ष नेताहरूबीच नेपालको पछिल्लो राजनीतिक अवस्था, शान्ति, संविधान र राष्ट्रिय सहमति निर्माणलगायतका विषयमा शनिबारै छलफल भएको छ । एमाले मुख्यालय बल्खुमा भएको भेटमा नेता पिङले  ‘चाँडोभन्दा चाँडो दलहरूबीच सहमति  भई शान्ति र संविधान निर्माणले पूर्णता पाओस् भन्ने चाहना प्रकट गरेका’ थिए ।  भेटवार्तामा अध्यक्ष झलनाथ खनालसहित एमाले विदेश विभाग प्रमुख केपी ओली, महासचिव ईश्वर पोखरेल, पोलिटब्युरो सदस्य केशव बडाल सहभागी थिए ।
अध्यक्ष खनालले चीन र नेपाल अत्यन्त घनिष्ठ छिमेकी रहेको र दुई देशबीच बहुआयामिक सहयोगको सम्बन्ध विकास हुँदै आएको भन्दै सन्तोष व्यक्त गरेको उनको स्वकीय सचिवालयद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख छ । अध्यक्ष खनालले नेपाल सधैँ एक चीन नीतिको पक्षमा उभिएको र नेपालको भूमि छिमेकीका विरुद्ध प्रयोग गर्न नदिन प्रतिबद्ध रहेको समेत स्पष्ट गरेका थिए ।
शनिबार साँझ चिनियाँ उच्चस्तरीय प्रतिनिधिमण्डलले राजधानीस्थित होटल रोयलसिंघीमा नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यसँग भेटवार्ता गरेको छ । ‘भेटमा दुई देश र दुई पार्टीबीचको सुमधुर सम्बन्धलाई थप सुदृढ गर्ने प्रतिबद्धता व्यक्त भयो,’ माओवादी प्रवक्ता पम्फा भुषालद्वारा भेटपछि जारी विज्ञप्तिमा उल्लेख छ । भुषालका अनुसार चिनियाँ प्रतिनिधिमण्डलले अध्यक्ष वैद्यलाई चीन भ्रमणको निम्तो दिएको छ । उपयुक्त समय मिलाएर आफू चीन जाने वैद्यले बताएका छन् ।
‘नेपालमा शान्तिप्रक्रिया र संविधान लेखनमा भएको असफलताप्रति गम्भीर चासो व्यक्त गर्र्दै चिनियाँ प्रतिनिधिमण्डलले नेपालको साझा समस्यामा सबै राजनीतिक दलहरू मिलेर जान सुझाब दिएको छ’ नेकपा–माओवादीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘नेपालको दिगो शान्ति र आर्थिक समृद्धिका निम्ति चीनले जहिले पनि सहयोग गर्ने वचनबद्धतासमेत प्रतिनिधिमण्डलले व्यक्त गरेको छ ।’ भेटमा माओवादी उपाध्यक्ष सिपी गजुरेल, महासचिव रामबहादुर थापा तथा सचिवद्वय नेत्रविक्रम चन्द र देव गुरुङ तथा नेपालस्थित चिनियाँ राजदूत याङ होउलान पनि सहभागी थिए ।

चिनियाँसामु आरोप–प्रत्यारोप
चिनियाँ उच्चस्तरीय प्रतिनिधिमण्डलले शनिबार एकीकृत माओवादी र नेकपा–माओवादीका शीर्ष नेतालाई पार्टी फुटबारे जिज्ञासा राखेको जिज्ञासामा दुवैले एक अर्कालाई आरोप लगाए । एमाओवादीका अध्यक्ष दाहालले नवगठित नेकपा–माओवादीका अध्यक्ष वैद्यलाई ‘जडसुत्रीय, मनोगत र अराजकतावादी’ आरोप लगाउँदै उनीहरू शान्ति, संविधान र स्थायित्वका पक्षमा नभएको टिप्पणी गरे ।
वैद्यले भारतीय इसारामा दाहालले दश वर्षे जनयुद्ध र कम्युनिस्ट आन्दोलनलाई नै समाप्त पारिदिएको तथा माओका नाममा गरिएको क्रान्तिको विसर्जन गराएकाले नयाँ पार्टी गठन गरेको चिनियाँलाई बताएका थिए ।
‘एमाओवादीबाट बाहिरिएका मोहन वैद्यलगायतका नेताहरू जडसुत्रीय, मनोगत र अराजकतावादी चिन्तनमा आधारित रहेर पार्टीलाई विभाजन गरेको र पार्टी विभाजनले शान्ति र संविधानको कामलाई कुनै असर नपार्ने’ दाहालले बताएको उनको निजी वेबसाइटले जनाएको छ ।
वैद्यले भने दाहाल र डा. बाबुराम भट्टराईको नेतृत्वमा क्रान्तिका सबै उपलब्धि समाप्त भएको तर्क गरेका थिए । कम्युनिस्ट पार्टीको नेतृत्वमा गठित जनसरकार, जनअदालत हुँदै जनमुक्ति सेनालाई दाहालले  विघटन गरेको र नवसंशोधनवादी भासमा फसेको भन्दै क्रान्तिकारीहरूलाई आफूले पुनर्गठन गरेको वैद्यले बताएको उनीनिकट स्रोतले जनाएको छ ।
Himalaya Times Daily, Ashad 17, 2069