पर्शुराम काफ्ले
गुजराल डक्ट्रिन
1 नेपाल, बंगलादेश, भुटान, मालदिभ्स र श्रीलंकाजस्ता छिमेकीसँग समान लेनदेनका आधारमा होइन, भारतले बढी सद्भाव र विश्वास गरेर फराकिलो हुनुपर्ने,
2 दक्षिण एशियाका कुनै पनि मुलुकले एक अर्काविरुद्ध आफ्नो भूमि प्रयोग गर्न दिनु नहुने,
3 एक अर्काको आन्तरिम मामिलामा हस्तक्षेप गर्नुनहुने,
4 एक अर्काको भौगोलिक अखण्डता र सार्वभौमिकताको सम्मान गर्नुपर्ने
5शान्तिपूर्ण दुईपक्षीय वार्ताबाट छिमेकीसँगको विवाद समाधान गर्नुपर्ने
काठमाडौं, मंसिर १५ । भौगोलिक, जनसंख्यिक र आर्थिकरुपमा साना दक्षिण एशियाली छिमेकीप्रति सद्भाव राख्ने भारतीय पूर्वप्रधानमन्त्री इन्दरकुमार गुजरालको ९२ वर्षको उमेरमा शुक्रवार निधन भएको छ । भारतको गुरगाउँस्थित मेदान्त मेडिसिटी अस्पतालमा ११ दिनअघि भर्ना भएका गुजरालको शुक्रबार अपराहृन ३ः३१ मा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । गुजराल सन् १९९७ अप्रिलदेखि १९९८ मार्चसम्म भारतका प्रधानमन्त्री थिए । यस अघि उनी भारतको सूचना तथा प्रशारण र विदेशमन्त्री भएका थिए । उनी नेपालको औपचारिक भ्रमणमा आउने हालसम्मका पछिल्ला भारतीय प्रधानमन्त्री हुन् ।
हाल पाकिस्तानमा पर्ने पञ्जावको झेलुम सहरमा सन् १९१९ डिसेम्बर ४ मा जन्मेका गुजरालले कम्युनिष्ट पार्टीबाट राजनीति सुरु गरेका थिए । उनका पिता अवतार नारायण गुजराल राजनीतिमै थिए । कम्युनिष्ट पार्टीकै तर्फबाट उनी भारतीय स्वतन्त्रता आन्दोलनमा होमिएका थिए । सन् १९४७ मा भारत स्वतन्त्र भएपछि भारतीय काँग्रेस पार्टीमा प्रवेश गरेका गुजराल इन्दिरा गान्धी नेतृत्वको मन्त्रिमण्डलमा सन् १९६९ र सन् १९७२ मा सूचना तथा प्रशारण मन्त्री भएका थिए । सन् १९७५ जुन २५ मा गान्धीले संकटकाल लगाएका बेला सञ्चारमन्त्री भएका उनी मिडियामाथिको सेन्सरसिपका कारण आलोचित भएका थिए । त्यसपछि तत्कालीन सोभियत संघका लागि राजदूत भएका उनी सन् १९८० पछि भारतीय कांग्रेस परित्याग गरेर समाजवादी भारतीय जनता दलमा सक्रिय भएका थिए । त्यसपछि उनी दुईपटक विदेशमन्त्री र एकपटक संयुक्त सरकारको प्रधानमन्त्री भएका थिए ।
I K Gujral Photo : Reutersविदेशमन्त्री छँदा लण्डनको चादम हाउसमा सेप्टेम्ब्र १९९६मा दिएको भाषणमा गुजरालले आफ्नो छिमेक नीतिका पाँच सिद्धान्त उल्लेख गरेका थिए । विदेश मन्त्रीको दोस्रो कार्यकालमा उनको सो भाषण चर्चित मात्र भएन, त्यही सिद्धान्त ‘गुजराल डक्ट्रिन’का रुपमा स्थापित भयो । उनले नेपाल, बंगलादेश, भुटान, मालदिभ्स र श्रीलंकाजस्ता छिमेकीसँग समान लेनदेनका आधारमा होइन, भारतले बढी सद्भाव र विश्वास गरेर फराकिलो हुनुपर्ने, दक्षिण एशियाका कुनै पनि मुलुकले एक अर्काविरुद्ध आफ्नो भूमि प्रयोग गर्न दिनु नहुने, एक अर्काको आन्तरिम मामिलामा हस्तक्षेप गर्नुनहुने, एक अर्काको भौगोलिक अखण्डता र सार्वभौमिकताको सम्मान गर्नुपर्ने तथा शान्तिपूर्ण दुईपक्षीय वार्ताबाट छिमेकीसँगको विवाद समाधान गर्नुपर्ने आफ्नो नीति चादम हाउसमा सार्वजनिक गररेका थिए । उनका यी पाँच सिद्धान्तले दक्षिण एशियाका सबै मुलुकहरुसँगको क्षेत्रीय सम्बन्ध र पाकिस्तानसँग भारतको सम्बन्धसमेत सुमधुर हुने उनको अपेक्षा थियो ।
‘छिमेकीहरु जनसंख्या, भूगोल र आर्थिक भोल्युमका हिसाबले साना भएकोले पारस्परिक वा बराबर लेनदेनका आधारमा होइन, भारतले नै बढी सद्भाव राख्नुपर्छ भन्ने उहाँको धारणा थियो र प्रधानमन्त्री भएका बेला यो कुरा लागू गर्न खोज्नुभएको पनि थियो,’ गुजरालसँग बारम्बार भेट गरेका तत्कालीन परराष्ट्रमन्त्री कमल थापाले भने, ‘भारतले छिमेकीहरुको सम्बन्धमा उदारता र सद्भाव देखाउनुपर्छ भन्नेमा उहाँ पछिसम्म दृढ हुनुहुन्थ्यो ।’
१९९७ मा नेपाल भ्रमणमा आएका बेला गुजरालले काँकडभिट्टादेखि बंगलादेशको बन्दरगाहसम्म पुग्ने भारतको बाटो खुला गर्ने घोषणा गरेका थिए । ‘उहाँ काठमाडौं आउँदासम्म भारतीय संस्थापन पक्ष त्यसबारेमा सकारात्मक थिएन, बंगलादेशको बन्दरगाहसम्म जोड्ने १२ किलोमिटर लामो भारतीय बाटो नखुल्दा नेपाललाई साह्रै अप्ठेरो परेको थियो’ पूर्वमन्त्री थापाले भने, ‘त्यो निकै ठूलो निर्णय थियो नेपालका हितमा ।’ नेपाल, भुटान र तिब्बत र बंगलादेश जोड्ने सिलीगुडी कोरिडोरको क्षेत्रलाई भारतीय सुरक्षा विज्ञहरुले ‘चिकेन नेक’का रुपमा व्याख्या गर्दै आएका छन् । भारतीय सुरक्षाका लागि सो क्षेत्र संवेदनशीलरुपमा लिने गरिएको छ, जहाँबाट बंगलादेशसम्मको बाटो खोने निर्णय गुजरालले गरेका थिए ।
गुजराल १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि पुनरावलोकन वा नवीकरणका लागि पनि सकारात्मक थिए । ‘सन्धि नवीकरण गर्नुुपर्छ भन्ने नेपालको मागमा उहाँ अत्यन्तै सकारात्मक हुनुहुन्थ्यो र प्रतिवद्धता पनि व्यक्त गर्नुभएको थियो’ गुजरालसँग वार्ता गरेका पूर्वमन्त्री थापाले भने, ‘उहाँ केही समय प्रधानमन्त्री रहनुभएको भए सन्धि पुनरावलोकन हुन्थ्यो भन्नेमा म ढुक्क थिएँ ।’
नेपाल भ्रमणका क्रममा बंगलादेशसँग जोड्ने बाटो खुला गरिदिएपछि गुजरालले भारतका सुरक्षा निकाय, हार्डलाइनर बुद्धिजीवि एवं कतिपय राजनीतिक वृत्तबाट चर्को विरोध खेप्नुपरेको थियो । त्यही कारण सन्धि तुरुन्तै पुनरावलोकन हुन नसकेको पूर्व परराष्ट्रमन्त्री थापाले बताए । तत्कालीन परराष्ट्रसचिव कुमार ज्ञवाली, सहसचिव मुरारीराज शर्मासहित सन् १९९७ मा नयाँ दिल्लीमा सन्धि पुनरावलोकनका विषयमा दुईपक्षीय वार्ता भएको तर वार्तामा भारतीय पक्षले असजिलो महसुस गरेको थापाको भनाइ छ । भारतीय प्रधानमन्त्री निवासमा भएकोे वार्तामा विदेश मन्त्रीको समेत जिम्मेबारी लिएका प्रधानमन्त्री गुजराल सहभागी थिए । ‘दुईपक्षी वार्ता अलिक असजिलो भएपछि मैले गुजरालसँग बेग्लै कुराकानी गर्ने प्रस्ताव गरेँ, उहाँ तयार भएपछि प्रधानमन्त्री निवास भित्रको एउटा कोठामा हामी दुईजनाको मात्रै कुराकानी भयो,’ त्यतिवेलाको वार्ताप्रसंगमा थापाले भने, ‘गोप्य कोठामा पुगेर उहाँले मलाई भन्नुभयो, ‘म सन्धि पुनरावलोकन गर्न प्रतिबद्ध छु तर बंगलादेशको बाटो खोलिदिएका कारण म अहिले धेरै दबाबमा छु । यही समयमा म अर्को विरोध खेप्त सक्दिन किनभने १३ दलको गठबन्धन मिलाएर लानु परेको छ तर तपाईँका राजा र प्रधानमन्त्रीलाई भन्दिनुस् कि नेपालकै प्रस्ताव पेपरका आधारमा सन्धि पुनरावलोकन गर्न म प्रतिबद्ध छु ।’ थापा गुजराललाई छिमेक सम्बन्धमा जवाहरलाल नेहरुपछिका ‘भिजिनरी व्यक्तित्व’ ठान्छन् । ‘गुजरालको सिद्धान्त नेपालजस्ता छिमेकीका लागि अहिले पनि उपयोगी छ । अहिले पनि भारतले साना छिमेकीप्रति ठूलो छाती राख्नुपर्छ,’ थापाले भने ।
पूर्व परराष्ट्रमन्त्री डा. रामशरण महतले पनि गुजराल डक्ट्रिनको सान्दर्भिकतामा जोड दिँदै दक्षिण एशियाले प्रभावशाली नेता गुमाएको प्रतिक्रिया दिए । ‘दक्षिण एशियाका एक कुशल नेताको अवसान भएको छ,’ महतले भने, ‘यो हाम्रा लागि अपुरणीय क्षति हो । ’
भारतमा लामो समय पत्रकारिता गरेका वरिष्ठ पत्रकार युवराज घिमिरेको दृष्टिकोणमा गुजराल छिमेकीहरुको भलो चाहने तर आफ्नो दृष्टिकोण कार्यान्वयन गर्ने ताकत नभएका नेता थिए । ‘गुजरालका पालामा १९५० को नेपाल भारत सन्धिका बारेमा एकेडेमिक बहस हुने वातावरण चाहिँ बनेको हो,’ घिमिरेले भने । भारतीय बरिष्ठ पत्रकार कुलदीप नैयरले गुजराल भारत–पाकिस्तान सम्बन्धका सेतु तथा बंगलादेशको मुक्ति संग्रामका सहयोगी रहेको स्मरण गरेका छन् । बीबीसी हिन्दी सेवामा शुक्रवार प्रकाशित लेखमा नैयरले गुजराल छिमेक सम्बन्धमा मात्र नभएर घरेलु मामिला समाधानमा पनि माहिर नेताका रुपमा सम्झनायोग्य रहेको उल्लेख गरेका छन् ।
यसैबीच, प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहलाई समवेदना सन्देश पठाई नेपालले एक असल शुभेच्छुक गुमाएको बताएका छन् ।
No comments:
Post a Comment