Thursday, 8 November 2012

राजनीति किन, कसका लागि ?


                                                        पर्शुराम काफ्ले
   
प्रोफेसर डा. राजेश गौतमले नेपाली कांग्रेसका शीर्ष नेता कृष्णप्रसाद भट्टराईलाई अन्तरवार्ताका क्रममा सोधेछन्– नयाँ पिढिलाई तपाईँले दिने सन्देश के छ ? यो २०४६ सालमा प्रजातन्त्रको पुनर्वहाली हुनुअघिको कुरा हो । किसुनजीले जबाफ दिए– मेरो जीवनले कसैलाई प्रभावित बनाउन सक्यो भने त्यो नै मेरो सन्देश हुनेछ ।’ सन्त नेता किसुनजीको जीवन निष्ठाको राजनीति गर्नेहरुका लागि साँच्चिकै गहन पुस्तकालय हो जसले पञ्चायत, बहुदल वा गणतान्त्रिक कालखण्डमा आफ्नो निष्ठा, सिद्धान्तको मूल्यमा कसैसँग सम्झौता गरेनन्, बरु जीवनको आखिरीमा नेपाली कांग्रेस परित्याग गरेर साधुसरह अन्तिमसम्म जीवन व्यतित गरे । २०४६ सालको संक्रमणकालीन अन्तरिम व्यवस्थालाई सफलतापूर्वक अवतरण गरेर किसुनजीले आमरुपमा सफल राजनेताको परिचय स्थापित गरे । तत्कालीन राजा, सेना, अन्तराष्ट्रि समुदाय र स्वयम् आफ्नो दल र आन्दोलनका सहयात्री अन्य दललाई विश्वासमा लिएर संक्रमणकालको सफल अबतरण गराएका किसुनजीको जीवन नयाँ पुस्ताका लागि गतिलो सन्देश हो । 
किसुनजीको पुस्ताले थालेको निष्ठा र इमान्दारिताको राजनीति अहिले भताभुंग भएको छ । नजिकबाट उनको जीवन नियालेका वा बाहिरबाट राम्रो अध्ययन गरेका अहिलेको राजनीतिको प्रथम पुस्ताबाट नयाँ पिढिले के सन्देश पाउने ? यतिवेलाको गम्भीर प्रश्न हो यो ।  किसुनजी र उनको  पुस्ताका बिपी कोइराला, पुष्पलाल, गणेशमान सिंह, मनमोहन अधिकारीले अहिलेको शीर्ष राजनीतिक तहमा रहेको पुस्तालाई त्याग, आदर्श र इमान्दारिता छाडेर गएको थियो । संघर्षको गाथा मात्र नभएर त्यो पुस्ताले नेपाली समाजको धरातलीय यथार्थ अनुसार आर्थिक सम्बृद्धिको सपनाको वस्तुवादी पाठ पढाएको थियो । तर, अहिलेको मुख्य तहमा रहेकाहरुले अर्को पुस्तालाई के सिकाइरहेका छन् ? नेपाली समाजको आवश्यकता, नयाँ पिढिको माग, अहिलेको भूमण्डलीकृत विश्व परिदृष्यमा यो नेतृत्वले देखाएको बाटोले हामीलाई कहाँ पु¥याउँदैछ ? गम्भीर समीक्षा आवश्यक देखिएको छ ।
दशैंअघि एउटा निजि भेटवार्तामा काठमाडौंको नाम चलेकै एक कलेजका प्रिन्सिपलले नयाँ पुस्ताको राजनीतिक छनौटबारे गरिएको सर्भेक्षण सुनाए । हरेक बर्षझैँ यसपटक पनि उनी सम्वद्ध कलेजले विद्यार्थीहरुलाई भर्ना लिँदा समसामयिक बिषयमाथि उनीहरुको रुचि बुझेको रहेछ । एउटा बेग्लै फारममा कलेजले विद्यार्थीको मनपर्ने नेता, कवि, कलाकार, चलचित्र, शिक्षक, खेलाडीका बारेमा सर्भेक्षण गरेछन् । नेतामाथिको सर्भेक्षणमा करिब ९० प्रतिशत विद्यार्थीले स्वर्गे भइसकेका पुराना नेता रोजेछन् । तीमध्ये पनि अधिकांशले बिपी कोइराला, राजा महेन्द्र, कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारीलाई सर्बाधिक मन पराएछन् । ‘अरु विधामा विद्यार्थीले अहिलेका चर्चित व्यक्ति रोजे, तर जीवित नेताहरु उनीहरुको रोजाइमा परेनन्’ ती प्रिन्सिपल भन्दैथिए, ‘अहिलेको पुस्तालाई अहिलेको राजनीतिक नेतृत्वप्रति भरोसा छैन भन्ने ट्रेन्ड देखियो । हामीले कुनै प्रायोजित सर्भेक्षण गरेका होइनौँ, विद्यार्थीको चेतनास्तर बुझ्न खोजेका हौँ । अब शीर्ष नेताले आफ्नो भूमिकाको समीक्षा गर्नुपर्ने देखियो ।’ एउटा निजि कलेजमा भर्ना हुन आएका डेढ÷दुईसय विद्यार्थीमाझ गरिएको सर्भेक्षण सम्पूर्ण होइन, तर उनीहरुको चेतनास्तरलाई पनि राजनीतिक नेतृत्वले नजरअन्दाज गर्न मिल्दैन । पुष्पकमल दाहाल ‘प्रचण्ड’, डा. बाबुराम भट्टराई, सुशील कोइराला, रामचन्द्र पौडेल, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, केपी ओली, मोहन बैद्य, उपेन्द्र यादव, महन्थ ठाकुरको समकालिन शीर्षतहले आफ्नो भूमिकाको निस्पक्ष मूल्यांकन गर्नुपर्ने बेला भएको छ ।
कुनै पनि क्रान्तिपछि आर्थिक सम्बृद्धिको चरणमा मुलुक प्रवेश गरेन भने त्यसले पुनः द्धन्द्ध निम्त्याउने खतरा रहन्छ । नेपालमा २००७, २०४६ र २०६३ जस्ता जनक्रान्तिहरुपछि राजनीतिक दलको प्राथमिकतामा आर्थिक विकास र सम्बृद्धिको एजेन्डा छैन । शीर्ष नेताको व्यक्तिगत र पार्टीको निहित स्वार्थपूर्तिका लागि मुलुकमा साम्प्रदायिक सद्भाव, जातीय मेलमिलापमाथि राजनीति गरिँदैछ यतिवेला । बदलिँदो विश्व परिवेशमा विश्वस्तरमा प्रतिस्पर्धी जनशक्ति तयार गर्ने र मुलुकलाई आर्थिकरुपमा सम्बृद्ध बनाउने एजेन्डामा हैन, पछिल्लो जनआन्दोलनपछि नेताहरुको प्राथमिकता सत्ता, कुर्सीभन्दा माथि उठ्न सकेको छैन । गएको मंगलवार साँझ एमाले अध्यक्ष झलनाथ खनाल कान्तिपुर टिभीमा भन्दै थिए, ‘हाम्रो जीवन संघर्ष गरेरै र केबल संघर्षको इतिहास पढेरै यहाँसम्म आइपुग्यो । आर्थिक विकासका बारेमा शोच्ने समय पाएनौँ र सकेनौँ । संघर्ष गर्ने भनेपछि त्यसको समग्र योजना दिमागमा बन्छ, तर आर्थिक विकास र सम्बृद्धिको कुरामा हामी जान सकेनौँँ । कुन जिल्लामा कुन जडिबुटीको सम्भावना छ, थाहै छैन, कहाँ खानी छ, थाहै छैन ।’ खनालले धेरैपछि सही कुरा अभिव्यक्त गरेका छन्, तर त्यो उनले साँच्चै महसुस गरेको हो भनेर विश्वास गरिहाल्ने समय भएको छैन । यद्यपि, यो शीर्षमध्येका एक नेताले गरेको ‘रियलाइजेसन’को प्रारम्भ चाहिँ हो । विश्वलाई देखाउने गरी भएको पछिल्लो विशाल जनआन्दोलनपछि नेताहरु अलोकप्रिय र असफल हुनुको कारण यही रियलाइजेसनको अभाव हो । किनभने मानिसले एउटा समयसम्म मात्रै सिद्धान्तका लागि काम गर्छ । नेपाली जनताले सिद्धान्त र बिचारका नाममा अब भोकै बसेर राजनीतिक दलको सेवा गर्न सक्दैनन्, गर्दैनन् ।
गणतन्त्र स्थापनाको पाँच बर्षसम्म मुलुकलाई संविधान दिन नसक्ने शीर्ष नेताहरुसँग आम जनताले के अपेक्षा गर्ने ? सरकार परिवर्तनको पुरानो फोहोरी खेलमा संलग्न नेताहरुप्रति अहिले आम मानिसको चरम् घृणाभाव छ । नेपालीहरुको ठूलो हिस्सा अहिले अरबको घाममा मृत्युसँग पौँठेजोरी खेलेर अदक्ष श्रम गर्न अभिसप्त छ । पाखुरा बजार्नसक्ने उमेरमा बिदेशको सस्तो श्रम बजारमा संलग्न भएको. उर्वर पुस्ताले अहिलेको राजनीतिक नेतृत्वलाई सबैभन्दा बढी घृणा गरिरहेको छ । उनीहरुले पठाएको बिप्रेषणको आधारमा जेनतेन मुलुक धानिएको छ । तर, त्यो बिप्रेषणलाई विकासमा हैन, सत्ताको लडाईँमा लगाएको राजनीतिक नेतृत्व त्यो पुस्ताका लागि अपराधीसरह भएको छ । किनभने गणतन्त्र स्थापनापछि आफूलाई भयानक क्रान्तिकारी दाबी गर्ने वा जनमुखी र प्रजातन्त्रवादी दाबी गर्ने कसैले पनि अरबको त्यो दुःखलाई नजिकबाट हेर्ने कोसिस गरेन । विदेशिन नचाहेको वा नसकेको ठूलो पंक्तिमा राजनीतिप्रति घृणा र आक्रोस व्याप्त छ । शहरमा बसेको र प्रविधिसँग हरेक पल अभ्यस्त नयाँ पुस्ताको रोजाइ विकसित मुलुक भएको छ । यो मुलुकमा आफ्नो भविश्य सुरक्षित नदेख्ने त्यो जमात राजनीतिप्रति कुनै सरोकार राख्दैन । सामाजिक सद्भाव र जातीय मेलमिलापसहित बसेका समुदायका लागि अहिलेको राजनीतिक नेतृत्व बिषसरह छ । उनीहरुका निहित स्वार्थपूर्तिका लागि जातीय झण्डा बोकेर हिँड्न सर्वसाधारण तयार छैनन् । त्यसकारण, राजनीतिक व्यवस्था परिवर्तन हुँदैमा केही पनि फरक नपर्ने रहेछ, जनताको आर्थिक सम्बृद्धिका एजेन्डा सहीरुपमा सम्बोधन नभएको अवस्थामा मुलुकको के हालत हुन्छ भन्ने सन्देश नेपालबाट बाहिर गइरहेको छ । तर, विश्वका हरितन्नम (अतिकम विकसित) मुलुकहरुको  नेतृत्व गर्दा हाम्रा क्रान्तिकारी नेताहरुमा गौरवबोध हुने गरेको छ । कस्तो बिडम्बना †
यतिवेलाको परिवर्तनका नाममा भएको राजनीतिक खिचातानीमा नेपाल र नेपालीको राष्ट्रिय पहिचान समाप्त पार्न खोजिँदैछ ।  लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएपछि प्रजातन्त्रको संस्थागत अभ्यास हुन दिइएको छैन । शीर्ष मानिने नेताहरुको निजि निवास र उनीहरुको घेराबाहिर प्रजातान्त्रिक अभ्यास हुन सकेको छैन । संविधानसभाको निर्वाचनदेखि विघटनसम्म त्यो संस्थाभित्र कहिल्यै प्रजातान्त्रिक अभ्यास गराइएन । व्यवस्थापिका संस्सदको हालत पनि त्यस्तै थियो । १६ बर्षदेखि खाली रहेको स्थानीय निकाय भ्रष्टाचारका केन्द्र बनाइएका छन्, निर्वाचन गराउने कुनै सुरसार छैन । जुन बर्गले जे का लागि परिवर्तनको बलिभेदीमा आफूलाई होम्यो, त्यो बर्गमा प्रजातन्त्रले प्रवेश नै गर्न पाएन पछिल्लो अबधिमा । स्थानीय निकायको निर्वाचन नगरेर  र बैधानिक निकायसमेतलाई निकम्मा बनाएर अहिलेको राजनीतिक नेतृत्वले पछिल्लो राजनीतिक परिवर्तनलाई आफूमै केन्द्रित गर्नुको फल अहिले नेपालीहरुले भोगिरहेका छन् । जनताको सार्वभौम संस्थाको नाम दिइएको संविधानसभा र व्यवस्थापिका संसद सीमित नेताको कठपुतलीभन्दा माथि हुन सकेनन् र यी सार्वभौम संस्थाको नेतृत्वले पनि त्यो भन्दा माथिल्लो हैसियत देखाउन सकेन । जुन बर्ग धरातलका मानिसको लागि राजनीति गर्ने अठोटसहित पन्ध्र हजार व्यक्तिको रगत बगायो, त्यो नयाँ राजनीतिक समूह र त्यसको नेतृत्व काठमाडौंमा प्रकट भएको छोटो अबधि (पाँच बर्ष नबित्दै) सर्बाधिक बदनाम भएको छ । र त्यसका लागि ऊ स्वयम्मा जिम्मेबार छ । २०४६ सालको आन्दोलनको नेतृत्व गरेका र पछिल्लो जनआन्दोलनको पनि नेतृत्व गरेका राजनीतिक दलहरुले लाचार र एजेन्डाहिन भूमिकाले पनि मुलुकलाई संकटको यो भड्खालोसम्म ल्याइपु¥याउन मद्दत गरेको छ । बिडम्बना यो छ कि यी कसैले पनि आफ्नो पछिल्लो अबधिको वस्तुनिष्ठ समीक्षा गर्न चाहेका छैनन् ।
मुलुकलाई संक्रमणको जन्जिरबाट मुक्त गराउने जिम्मेबारी पाएको तर नसकेको त्यही असफल नेतृत्वले फेरि एकपटक सहमतिको रट लगाइरहेको छ । असफलहरुको एउटा समूह अर्कोविरुद्ध आन्दोलनको तयारीमा छ भने सरकारको नेतृत्वमा रहेको अर्को असफल समूहले बजेटका नाममा भीडन्तको राजनीति गरिरहेको छ । आर्थिक सम्बृद्धिको प्रतिवद्धताले महाशक्ति राष्ट्र अमेरिकामा अहिलेकै नेतृत्व थप कार्यकालका लागि चुनिएको छ भने पुरानो नेतृत्वको सफलताको जगमा अर्को महाशक्ति चीनमा नयाँ नेतृत्व आउँदैछ । तर पाँच बर्षसम्म असफलताको भारीले थिचेको हाम्रो मुलुकमा असफलहरुबीच प्रतिस्पर्धा भइरहेको छ । असफलताको प्रमाणपत्र भिरेको शीर्ष नेतृत्वले आफ्नो गद्दि छाड्ने कल्पनासमेत गरेको छैन । असफल मुद्दा र नेतृत्वबीच भएको प्रतिस्पर्धाले मुलुकलाई थप अन्यौलतर्फ धकेलेको छ । यि नेताहरुको जीवनबाट नयाँ पिढीलाई जाने सन्देश असफलता बाहेक केही छैन । आखिर यिनीहरु किन र कसका लागि राजनीति गर्दैछन् ?

Email: pkaphle@gmail.com
   
Published at HIMALAYA TIMES Nepali Daily, Kattik 24, 2069

No comments:

Post a Comment