Saturday, 19 January 2013

कसको आडमा मुख खोले प्रचण्डले ?



दण्डहिनताका पक्षमा प्रचण्डको मौनता तोडिएपछि अनेक आशंका उब्जिन थालेका छन् ।

आफ्ना कार्यकर्ताद्वारा बर्बरतापूर्वक हत्या गरिएका दैलेखी पत्रकार डेकेन्द्रराज थापाका हत्याराहरु समातिएपछि प्रधानमन्त्री डा. बाबुराम भट्टराईसहित एमाओवादीका नेताहरुले कोकोहोलो मच्चाए पनि अध्यक्ष प्रचण्ड मौन बसिरहेका थिए । सरकारको दुरुपयोग गर्दै प्रधानमन्त्री र महान्यायाधिवक्ताले प्रहरीलाई अनुसन्धान नै अघि नबढाउने परिस्थिति निर्माण गर्न गरेका सबै प्रयत्न असफल भएसँगै अन्तराष्ट्रिय समुदायले सरकारी रबैयाप्रति कडा आपत्ति जनायो र एमाओवादीले उनीहरुसँग होटल सांग्रिलामा बोलाएर प्रष्टीकरण दियो । माघ ५ गते एमाओवादी अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री भट्टराईलगायतले युरोपेली कुटनीतिज्ञहरुको चर्को दबाब सामना गरेको भोलिपल्ट माघ ६ गते पोखरामा अनौठो दृष्य देखियो । एमाओवादी अध्यक्ष प्रचण्डले डेकेन्द्रका हत्याराको बचाउ गर्दै यसबीचको मौनता तोडेर प्रधानमन्त्री भट्टराईको दण्डहिनता संस्थागत गर्ने अभियानको अभिभावकत्व ग्रहण गरे । कुटनीतिज्ञहरुसँगको भेटवार्तापछि प्रचण्डडले मौनता तोडेर दण्डहिनताका पक्षमा आफूलाई उभ्यानुका पछाडि अनेकन् अड्कलबाजीहरु हुन थालेका छन् ।
पोखरामा पार्टीको जिल्ला महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले ‘परिवर्तनलाई सखाप पार्ने षड्यन्त्रअनुसार’ लण्डनमा कुमार लामा र दैलेखमा पत्रकार डेकेन्द्र थापाका हत्याराहरुलाई पक्राउ गरिएको आरोप लगाए । तर, प्रचण्डले षड्यन्त्र यस्तो थियो भन्ने चाहिँ स्पष्ट पार्न सकेनन् । एमाओवादीहरुले ‘षड्यन्त्र’ भन्ने शब्द बारम्बार उच्चारण गरिरहेका छन् । उनीहरुले हरेक घटनाक्रमलाई आफूविरुद्ध षड्यन्त्र देख्न थालेका छन् । षड्यन्त्रको स्कूल अफ थटबाट आएका उनीहरुले त्यो देख्नु स्वभाविकै पनि हो । प्रचण्डले यतिबेला कुमार लामा र डेकेन्द्र हत्याराको गिरफ्तारी प्रकरणमा षड्यन्त्र देख्नुअघि उनले कुन षड्यन्त्र अनुसार सत्यनिरुपण र मेलमिलाप आयोग गठन गर्ने पहलकदमी यसबीचमा गर्न सकेनन् ? आफैँ प्रधानमन्त्री हुँदा यो गठन गर्न कसले रोक्यो र प्रधानमन्त्रीले संसद नभएको अवस्थामा त्यो आयोग गठनका लागि किन अध्यादेश राष्ट्रपतिलाई पठाउनुप¥यो ? जबाफ स्पष्ट छ कि उनीहरु गम्भीर अपराधमा संलग्न कार्यकर्तालाई न्यायको कठघरामा उभ्याउन चाहँदैनन्, माफी दिन चाहन्छन् ।  प्रस्तावित अध्यादेशका केही प्राबधान हेरौं न :
‘पीडक वा पीडितले मेलमिलापका लागि आयोगसमक्ष निवेदन दिएमा आयोगले पीडक र पीडितलाई एकआपसमा मेलमिलाप गराउन सक्नेछ । तर पीडक वा पीडितको निवेदन नपरे पनि मेलमिलाप गराउन आयोगलाई कुनै बाधा परेको मानिने छैन’                    दफा २२ को उपदफा १ 

‘आयोगले यस अध्यादेशबमोजिम छानबिन गर्दा पीडकलाई क्षमादान गर्न उपयुक्त देखेमा त्यसको पर्याप्त आधार र कारण खुलाई नेपाल सरकारसमक्ष सिफारिस गर्न सक्नेछन्’ दफा २३ को उपदफा १
‘मानवअधिकारको गम्भीर उल्लंघनको आरोपमा दोषी देखिएको व्यक्तिउपर आयोगको सिफारिसको आधारमा मुद्दा चलाउने मन्त्रालयबाट लेखी आएमा महान्यायाधिवक्ता वा निजले तोकेको सरकारी वकिलले त्यस्तो व्यक्तिउपर मुद्दा चल्ने वा नचल्ने सम्बन्धमा निर्णय गर्नेछ’ दफा २८ को १ 

‘व्यक्ति हत्या, अपहरण, बलात्कार, शारीरिक वा मानसिकलाई युद्ध अपराधको रूपमा लिन नहुने । आयोगलाई उचित लागे त्यस्ता घटनाका दोषीलाई क्षमा दिने’

यसबाट स्पष्ट हुन्छ, वर्तमान सरकारले कस्तो परिवर्तन संस्थागत गर्न खोज्दैछ र युद्धकालमा भएका बर्बर एवं पाशविक घटनामा संलग्नलाई माफी दिएर कस्तो समाजको परिकल्पना गरिरहेको छ ।
अर्कोकुरा, द्धन्द्धकालमा प्रधानमन्त्री भएका शेरबहादुर देउवा र पूर्व गृहमन्त्री बामदेव गौतमले युद्धकालका घटनामा आफूहरु दोषी भए जेल जान तयार भएको स्पष्ट पारिसकेका छन् । यदि उनीहरु त्यसका लागि तयार छन् भने प्रचण्ड र बाबुराम किन तयार नहुने ?
प्रचण्डले विशेष गरि युरोपेली राजदूतहरुसँग रहस्यमय सम्बन्ध राख्दै आएको चर्चामाझ उनी युद्धकालीन मुद्दा ती मुलुकहरुले नै ब्युँताएर अन्तराष्ट्रियरुपमा आफूलाई समाप्त पार्ने हुन् कि भन्ने त्रासदीमा छन् । नेपालमा युरोपेली मुलुकहरुको गतिविधि चीन विरोधी रणनीतिमा केन्द्रित छ र जातीय मुद्दा उठाएर एमाओवादीले उनीहरुलाई ठूलो गुन लगाएको परिप्रेक्ष्यमा प्रचण्डले उनीहरुसँगको सम्वादपछि दण्डहिनतालाई प्रश्रय दिने अभिव्यक्ति दिएका छन् । आफ्नो रणनीतिक स्वार्थमा साद दिँदै आएका प्रचण्डलाई युद्धकालमा भएका मानवअधिकार उल्लंघनका घटनामा उन्मुक्ति दिलाउने आश्वासन त युरोपियनहरुले दिएका छैनन् ? गम्भीर आशंका उब्जिएको छ । किनभने सबैलाई थाहैछ, मानवअधिकार र प्रजातन्त्र भनेको उनीहरुको स्वार्थपूर्ति गर्ने हतियार  मात्रै हो ।

यसरी खुल्दैछन् डेकेन्द्र हत्याराका मतियारहरु

Dekendra Thapa                  photo : Mediakurakani
मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीले पत्रकार डेकेन्द्र थापाको हत्या स्वीकार गरिसकेका आफ्ना पार्टी कार्यकर्ता रिहाईका लागि बन्दको निर्लज्ज कार्यक्रम आह्वान गरेको छ । रणवीर नामका नेताले जारी गरेको यो विज्ञप्तिले हत्याराहरुलाई हौसला दिएर आफ्नो दलको कालो दाग सार्वजनिक गरेका मात्र छैनन्, कानूनी राज्यको उपहाससमेत गरेका छन् । केही बयान गर्नैपर्दैन, हत्याराको संरक्षणमा आजै जारी बक्तब्यको पूर्णपाठ जस्ताको तस्तै: 



नेपाल कम्युनिष्ट पार्टी—माओवादी
भेरी–कर्णाली राज्य संगठन समिति
प्रेस विज्ञप्ति

मिति: २०६९ माघ ६

जनयुद्धकालमा राज्य र विद्रोही दुवै पक्षबाट भएका सम्पुर्ण घटनाहरु सत्य निरुपण तथा मेलमिलाप आयोगको माध्यमबाट समाधान गर्ने विगतको विस्तृत शान्ती सम्झौता र अन्तरिम संविधानको प्रावधानलाई दैलेख जिल्लामा ५ जनाको गिरफ्तारीले गंभिर उल्लङ्घन गरेको मात्र छैन अपितु गृह प्रशासनले देशी विदेशी शान्ति विरोधि शक्तिको वृहत योजनामा द्वन्द्वको सुरुवात समेत गरेको त्यस पछिका घटनाक्रमले पुष्टि गर्दछन् । हाम्रा सामु यस प्रकारका सयौं गैरन्यायीक घटना एवं वेपत्ताका मुद्दाहरु छन् जुन मुद्दालाई कोट्याउने कुराले समस्याको समाधान गर्ने होइन की देशमा परिवर्तन सहितको शान्ती नचाहने तत्वलाई नै मद्दत गर्ने देखिन्छ । सम्पुर्ण देशभक्त, गणतन्त्रवादी, एवं प्रगतिशिल, वुद्धिजीवी, मानवअधिकारवादी, पत्रकार,राजनीतिक दल, नागरिक समाज,एवं न्यायप्रेमी आदरणीय जनसमुदायमा विषयको यो गंभिरता तर्फ पनि सचेत हुन हामी हार्दिक अनुरोध गर्दछौं ।
दैलेखमा गिरफ्तार कमरेडहरुलाई तत्काल रिहाइ गरी यो मुद्दा लगायत जनयुद्धकालीन सम्पुर्ण मुद्दाहरु सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत समाधानका लागि पहल गर्न सरकार समक्ष पुनः जोडदार माग गर्दछौं । राष्ट्रियता जनतन्त्र र जनजीवीकाको सुनिश्चितता र परिवर्तन सहितको शान्ती स्थापना गर्न, हाम्रा गिरफ्तार कमरेडहरुको तत्काल रिहाई गरि राज्य र विद्रोही दुवै पक्ष संग सम्वन्धित सम्पुर्ण मुद्दाहरु सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत समाधान गर्न दबाव दिन भेरी कर्णाली राज्य समिति आगामी माघ १५ गते राज्य वन्दको आह्वान गर्दछ । यस बन्द कार्यक्रमलाई सफल बनाउन आ–आफ्नो ठाँउबाट सहयोग र समर्थन गरिदिनुहुन हामी सम्पूर्ण उद्योगी–व्यापारी, यातायात–व्यवसायी लगायत आदरणीय जनसमुदायमा हार्दिक अनुरोध गर्दछौं ।
भरत बम (रणवीर)
सेक्रेटरी

Friday, 18 January 2013

‘बैद्यबा’को अन्यौल यात्रा

प्रचण्ड र बाबुरामले राजदूतहरुलाई ‘मुर्गा’ बनाउँदा


होटल सांग्रिला, लाजिम्पाट, काठमाडौं  
 माघ ५ गते 
सरकारको नेतृत्वकर्ता दल एकीकृत माओवादीले दण्डहिनतालाई प्रश्रय दिने पार्टी नीति नरहेको प्रष्टीकरण दिँदै विदेशीहरुसामू झुटको पुलिन्दा पस्केको छ । सत्यनिरुपण तथा मेलमिलाप आयोगमार्फत् द्वन्द्व अबधिका घटनाहरुमा भएको मानवअधिकार उल्लंनवारे आफूहरुले समाधान खोजेको तर आममाफी दिने व्यवस्था नगरेको झुट एमाओवादी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष रहेका प्रधानमन्त्री डा. बाबुराम भट्टराइले विदेशीलाई बताएका छन् । पीडकलाई माफी दिने सहितको प्रस्तावित आयोगको पूर्ण पाठ सञ्चारमाध्यममा सार्वजनिक भइसकेका बेला प्रचण्ड र भट्टराईले बाँडेको झुटको पुलिन्दा विदेशीहरुले कसरी खाने हुन्, गहिरिएर हेर्नुपर्ने भएको छ ।

पत्रकार हत्यामा संलग्न भएको हुँ, कारबाही गरियोस् भनेर अभियुक्तहरुले नै बताइसक्दा उनीहरुलाई रिहा नगरे शान्ति प्रक्रिया नै भाँडिनसक्ने अभिव्यक्ति दिने अरु कोही नभएर प्रधानमन्त्री भट्टराई हुन् । उनै प्रधानमन्त्रीले अभियुक्तहरुको गिरफ्तारीसँग सरकारको समर्थन नरहेको अभिव्यक्ति दिएर यद्धकालीन कथित जनसत्ताका प्रमुख रहेको झझल्को दिन पनि खोजेकै हुन् । अहिले  काठमाडौंस्थित कुटनीतिक समुदायलाई बोलाएर उनैले भनेका छन्, –अन्तराष्ट्रिय मापदण्ड अनुसारका आयोग गठन गर्न र पीडितलाई न्याय दिलाउन पार्टी र सरकार प्रतिवद्ध छ । ’ सञ्चारमाध्यममा आएका सबै यथार्थ बुझिसकेका विदेशी कुटनीतिज्ञहरुका लागि सायदै यो भन्दा हाँसोउठ्दो बिषय अरु हुन नसक्ला । भट्टराईकै क्याविनेटले विहीवारमात्रै ज्यानमुद्दा फिर्ता लिने निर्णय गराएको जानकार कुटनीतिज्ञहरुका यो छलफल एमाओवादीको एक्सपोज मात्रै हो भन्दा फरक नपर्ला ।  सरकारप्रमुखको हैसियतबाट राज्यसंयन्त्रविरुद्ध नै अभिव्यक्ति दिने र आचरण प्रदर्शन गर्ने प्रधानमन्त्री सायद नेपाल मात्रै हो भन्नेमा उनीहरु ढुक्क होलान् र नयाँ नेपालको हास्यास्पद नयाँ प्रयोग देख्दा पेट मिचिमिचि हाँस्दा हुन् ।
यथार्थ यो हो कि, द्धन्द्धको समयमा पत्रकार थापालाई चर्को यातनादिएर जिउँदै गाडेको बयान अभियुक्तहरुले नै दिइसके पनि बचाउका लागि प्रधानमन्त्री भट्टराई र महान्यायधिवक्ता मुक्ति प्रधानले बयान नै रोक्ने कोसिस गरेका थिए । तर त्यसविरुद्ध पत्रकार आन्दोलित भएपछि र सर्बोच्च अदालतले पनि बयान नरोक्न आदेश दिएपछि अन्तराष्ट्रियरुपबाट नै सरकारले चर्को आलोचना खेप्दै आएको थियो । युरोपेली मुलुकहरुले विहीवार सार्वजनिक बक्तव्यमार्फत् गम्भीर मानवअधिकार उल्लंघनका घटनालाई उन्मुक्ति दिन खोजेको भन्दै सरकारप्रति असन्तुष्टि प्रकट गरेको थियो ।
‘हामीले गम्भीर मानवअधिकार उल्लंघनका घटनामा संलग्न जोकोहीलाई पनि उन्मुक्ति दिन खोजेको होइन, द्धन्द्धअबधिमा भएका सबै घटनाको सत्यनिरुपण आयोगमार्फत् छानविन गरेर अघि बढौँ मात्र भन्न खोजेका हौँ’ बुझिए अनुसार एमाओवादी अध्यक्ष प्रचण्डले छलफलमा भनेका थिए । एमाओवादी नेताहरुलाई नर्वे, फिनल्याण्ड, अस्ट्रेलिया, फ्रान्स, स्वीटजरल्याण्डलगायत मुलुकमा राजदूतले प्रस्तावित सत्यनिरुपण तथा मेलमिलाप आयोगमा राखिएका आममाफीको प्राबधानवारे असन्तुष्टि जनाएका थिए । तर प्रधानमन्त्री एवं प्रचण्डले जानाजान त्यसबारे झुटो जबाफ दिएर उनीहरुलाई टालटुल पार्न खोजेका थिए ।
एमाओवादीको विदेश विभागद्वारा लाजिम्पाटस्थित होटल सांग्रिलामा आयोजित छलफलमा प्रधानमन्त्री भट्टराई, एमाओवादी अध्यक्ष दाहाल, विभाग प्रमुख राम कार्की, नेता नारायणकाजी श्रेष्ठ सहभागी थिए । छलफलमा भारतीय राजदूत जयन्तप्रसाद भने सहभागी थिएनन् ।  अमेरिकी, चिनियाँ र युरोपेली मुलुकका राजदूतहरुको उल्लेख्य सहभागीता रहे पनि एमाअ‍ोवादीसँगको छलफलमा बेलायती राजदूतले उपनियोग प्रमुखलाई पठाएका थिए ।

Friday, 11 January 2013

राष्ट्रनिर्माताको सम्मान र सम्झनामा..

पर्शुराम काफ्ले


नेपाल एकीकरण आम नेपालीहरुका लागि गर्वको बिषय हो र एकीकरणका अभियन्ता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह हाम्रा विभूति हुन्, महानायक हुन् । नेपाल एकीकरण अभियानमा उनीसँगै बहादुर शाह, कालु पाण्डे, भक्ति थापा, अमरसिंह थापा, बलभद्र कुँबर, बंशिराज पाण्डे, बंशु गुरुङसहित हजारौं वीर वीरंगानाको अथक योगदान नेपाली जातिले कदापि भुल्न सक्दैन । मुलुकको एकीकरणकर्ता÷निर्माता पृथ्वीनारायण शाहको अमूल्य योगदान कुनै बहसको बिषय हुन सक्दैन र हुनु नहुने पनि हो । तर, दोस्रो जनआन्दोलनको ज्वारभाटाले जब उनको उत्तराधिकारी शाहबंसीय राजसंस्थाको अन्त्य ग¥यो (यद्यपि, यसको बैधानिकताको प्रश्न जीवितै छ) र त्यसपछि उनका योगदानलाई बङ्ग्याएर इतिहासको गलत व्याख्या गर्ने कामको आरम्भ भयो ।
विशेष गरि एकीकृत माओवादीले सुनियोजितरुपमा पृथ्वीनारायण शाहको योगदानको विरुद्ध  जातीवादी जनमत तयार गरी उनलाई खलपात्रका रुपमा चित्रित गर्न थालेपछि साम्प्रदायिक शोच बोकेका तथाकथित अग्रगमनकारी भनिनेहरुले उनलाई विस्तारवादी, साम्राज्यवादी र इतिहासको खलपात्रका रुपमा आरोपित र अपमानित गर्न थाले । दोस्रो जनआन्दोलनका समयमा काठमाडौंमा रहेका उरण्ठ्यौला माओवादी कार्यकर्ताले उनको शालिक तोडफोड गरेर नेपाली इतिहासलाई कुल्चिने दुस्प्रयास गरे । आज पृथ्वीनारायण शाहको २९० औं जन्मजयन्तिका दिन मुलुकले उनलाई औपचारिकरुपमा सम्झिने आँट गर्न सकेको छैन क्रमशः नेपाली जातिको गौरवशाली इतिहास र राष्ट्रनिर्मातामाथि हिलो छ्याप्ने प्रयास स्वयम राज्यबाट हुन थालेको छ ।
तत्कालीन घलेलु र बाह्य परिवेश एवं हाम्रो भविश्यको गहिरो चिन्तनसहित युवा राजाले थालेको एकीकरण अभियानमा जनजाति, दलित सबैले साथ दिएका हुन् । आज नेपाल एकीकरणको विरोध गर्ने जनजाति समूहहरुले मुलुक निर्माणको आफ्नै गौरवशाली इतिहासमाथि हमला गरिरहेका छन् । उनले प्रतिपादन गरेको विदेश नीति, सैन्य रणनीति र सुशासनसम्बन्धि उनका महानवाणि आजपनि मुलुकका लागि उत्तिकै सान्दर्भिक छन् । मुलुकको छिमेक सम्बन्ध, प्रशासन, प्रजातन्त्र र अखण्डताका लागि उनका दिव्योपदेश अहिले पनि हाम्रा लागि मार्गनिर्देशक छन् । यो यथार्थलाई अहिले शासनमा पुग्नेहरुले चटक्कै भुलेका छन् ।

नेपाल एकीकरण यता मुलुक राणा शासन, प्रजातन्त्र, पञ्चायती शासन, बहुदलीय प्रजातान्त्रिक शासन हुँदै अहिले गणतन्त्रमा आइपुगेको छ । एकीकरणले पूर्णता पाएका बेला मुलुकको आकार अहिले हामीसँग छैन, तर हामीसँग रहेको मुलुकको अखण्डता कहिल्यै पनि कसैको औपनिवेश बन्न नसक्नुमा यदि हामी गर्व गर्छौँ भने पृथ्वीनारायण शाहलाई यसको जस स्वभाविकरुपमा दिनुपर्छ । उनको दूरदर्शीतापूर्ण कदमले सिन्धुलीगढी आइपुगेको कप्तान किनलोकको अंग्रेजी फौजलाई परास्त गरी गोर्खाली फौजले मुलुक जोगाएको कुरा बिर्सने हो भने इतिहासप्रति यो भन्दा बढी अपमान केही हुनेछैन । यतिबेला पृथ्वीनारायणलाई अतिक्रमणकारी भन्नेहरुसँग उत्तर छैन कि यदि कान्तिपुरका तत्कालीन राजा जयप्रकाश मल्लले बोलाएको ब्रिटिश फौज सिन्धुलीगढीबाट हार खाएर नफर्किको भए र काठमाडौंमा बुट बजार्न पाएको भए यो मुलुकको अस्तित्व के हुन्थ्यो ? अनि अहिले कुन भूगोलमा टेकेर अहिले उनीहरुले राजनीति गर्थे ? उनी र उनका उत्तराधिकारीहरुको नेतृत्वमा त्यो बेला भएका आन्तरिक र बाह्य लडाईँको जगमा निर्माण भएको मुलुकप्रति हामी यदि गर्व गर्छौँ भने पृथ्वीनारायण हामी  सबैका सम्मानका प्रतिक किन नहुने ?

कतिपयले नेपालको एकीकरणको आलोचना गरिरहँदा आफू टेकेको भूगोल बिर्सिरहेका छन् । मानौं, पृथ्वीनारायण शाहले थालेको अभियान अत्याचारको प्रतिक थियो भने त्यसको विरोध गर्नेहरुले मुलुकको पुरानो भूगोलको किन कुरा उठाउँदैनन् ? यदि एकीकरण चाहिँ गलत अनि त्यही भूगोलको अस्तित्व चाहिँ सही ? कसरी सम्भव हुन्छ ?

दोस्रो जनआन्दोलनपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारले पुस २७ गते राज्यले मान्दै आएको राष्ट्रिय एकता दिवस एवं पृथ्वी जयन्तिको कार्यक्रम खारेज गरेर मुलुकको इतिहासमाथि कुठाराघात ग¥यो । मरेर गए पनि कोइरालाले नेपाली इतिहासमाथि गरेको यो हदको अन्यायको कालो दाग कहिल्यै पनि मेटिने छैन । त्यसयता एमाओवादीको सिको गर्दै कयौँ जातीय, मधेशी राजनीतिक समूहले पृथ्वीनारायण शाहको निर्लज्ज विरोध गर्दै आएका छन् र मुलुकको इतिहासमाथि राजनीति गरिरहेका छन् । यसलाई उनीहरुको गम्भीर अपराध मानिनुपर्छ । त्यसयताका सरकारहरुले पृथ्वीनारायणसँग जोडिएका मुलुकका विभिन्न स्थान र संस्थाहरुको नाम मेट्न थालेका छन्, यो भन्दा इतिहासप्रति कठोर अन्याय र अपमान केही हुनेछैन ।
पृथ्वीनारायणको २९० औं जन्मजयन्तिका दिन सबै नेपालीले उनलाई सम्झिनुपर्छ । इतिहासको सम्मान भएन भने वर्तमानको पनि भविश्यमा सम्मान हुनेछैन । यदि मुलुक निर्माणका बेला भएका अत्याचारका कथा पढाइने हो भने उनैले निर्माण गरेको मुलुकको व्यवस्था परिवर्तनका नाममा भएका आन्दोलन पनि गम्भीर अपराधमा परिणत हुनजान्छ । यदि पृथ्वीनारायणलाई अत्याचारी शासकका रुपमा व्याख्या गर्ने हो भने हालसम्म सशस्त्र आन्दोलनको पृष्ठभूमिबाट आएका सबै दल अपराधिमा परिणत हुनेछन् । त्यही व्याख्यालाई मान्ने हो भने एकीकृत माओवादी, कांग्रेस, एमाले परिवर्तनको सशक्त राजनीतिक शक्ति हैन, अपराधिहरुको झुण्डका रुपमा स्थापित किन नहुने ? त्यसकारण, व्यवस्था परिवर्तन भन्दा मुलुक निर्माण हजारौँ गुणा पुन्य हो । यो यथार्थलाई आत्मसात गर्दै पृथ्वीनारायण शाहलाई उच्च सम्मान गरौं । उनीप्रतिको सम्मानले नै हामीलाई नेपाली हुनुमा गर्व भइरहनेछ । राष्ट्रनिर्माताप्रति भावपूर्ण श्रद्धान्जली ।
काठमाडौं, २०६९ पुस २७ , पृथ्वीजयन्ति